इजरायलले गाजामा दैनिक इन्धन भरेका दुईवटा ट्रकलाई जान अनुमति दिने



अमेरिकी दबाबपछि इजरायलले गाजा स्ट्रिपमा प्रत्येक दिन दुई वटा इन्धन बोकेका ट्रकहरूलाई प्रवेश गर्न दिने बताएको छ । अमेरिकी विदेश मन्त्रालयका एक जना अधिकारीले हरेक दुई दिनमा त्यहाँ करिब १ लाख ४० हजार लिटर इन्धन जान अनुमति दिइने बताए ।

ती अधिकारीका अनुसार धेरैजसो ट्रकहरू सहायता पुर्याउने उद्देश्यका साथसाथै पानी र सरसफाइ उपलब्ध गराउन संयुक्त राष्ट्र सङ्घलाई सहयोग गर्ने उद्देश्यले पठाइन लागेका हुन् ।


बाँकी इन्धन मोबाइल फोन र इन्टरनेट सेवा सञ्चालनका लागि पठाइन लागेको हो । त्यहाँ इन्धन अभावका कारण उपकरणहरू नचल्दा मोबाइल फोन र इन्टरनेट सेवा बन्द भएको थियो ।

शुक्रबार गाजामा सञ्चार सेवा दिँदै आएको कम्पनीले प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र सङ्घीय एजेन्सीबाट केही मात्रामा इन्धन प्राप्त गरेपछि आफ्ना सेवाहरू पुनः सुरु भएको भएको बताएको छ ।

अमेरिकी अधिकारीले वाशिङ्टनले इजरायललाई इन्धन पठाउनेसम्बन्धी सहमति कार्यान्वयन गर्न पर्याप्त दबाब दिएको बताएका छन् । ती अमेरिकी अधिकारीले बताए अनुसार सैद्धान्तिक रूपमा उक्त सहमति गत साता भएको थियो तर इजरायलले दुई वटा कारणले त्यसको ढिलाइ गरेको थियो ।

प्यालेस्टाइनका लागि संयुक्त राष्ट्र सङ्घीय एजेन्सीका प्रमुखले बिहीबार इन्धन अभावका कारण एजेन्सीले आफ्ना सबै गतिविधि स्थगित गर्नुपर्ने चेतावनी दिएका थिए ।a