काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका चीनको स्वशाषित क्षेत्रका सचिव वाङ छुङछेङ नेतृत्वको प्रतिनिधिमण्डलबीच गृह मन्त्रालयमा भेटवार्ता भएको छ ।
त्यस अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच सरकार, पार्टी र जनस्तरमा हार्दिकतापूर्ण सम्बन्ध रहेको बताए । नेपालको विपद् तथा विकासमा चीनको सहयोग अमूल्य रहेको बताउँदै उनले भूकम्प तथा कोभिड महामारीका बेला र हाल पनि चीनले गरे सहयोगप्रति आभार व्यक्त गरेको गृह मन्त्रालयले जनाएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङको नेतृत्वमा कार्यान्वयनमा गएको बिआरआई परियोजनालाई नेपालले आत्मसात गरिसकेको र यसमार्फत कमजोर अर्थतन्त्र भएका मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने चीनको नीतिको उनले सराहना गरे ।
उपप्रधानमन्त्री श्रेष्ठले यसका लागि पूर्वाधारको कामलाई प्रभावकारी र व्यापकरूपमा अगाडि बढाउने गृहकार्य पनि सफल भइछाड्ने विश्वास व्यक्त गरे ।
सचिव वाङले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको चीन भ्रमणका क्रममा उनी र राष्ट्रपति सीबीच भएका सहमति–सम्झौतालाई कार्यान्वयन तहमा लैजानु आफ्नो भ्रमणको उद्देश्य भएको बताए ।