एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुने



काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने भएको छ । आगामी माघ १४ गतेदेखि १८ गतेसम्म गर्ने भनिएको महाधिवेशनको स्थान भने अहिलेसम्म टुङ्गो लागेको छैन । 

सबै जनवर्गीय सङ्गठनको अधिवेशन सम्पन्न हुन नसकेकाले आगामी मङ्सिरको दोस्रो सातामा अधिवेशन सम्पन्न गर्ने निर्णय भएकाले महाधिवेशन प्रतिनिधि छनौटका मापदण्ड सम्बन्धी कार्यविधि तर्जुमा गर्न लागिएको छ ।


पछिल्लो केन्द्रीय कार्यसमितिको बैठकको सुझावअनुसार अधिकांश युवालाई पार्टीमा आकर्षित गर्न केन्द्रीय कार्यसमितिमा उनीहरूको सहभागिता बढाउने, अल्पसङ्ख्यक, दलित, सीमान्तकृत र पिछडिएका समुदायको प्रतिनिधित्वलाई समावेशी गराउने तथा वैचारिक दृष्टिकोणलाई परिमार्जन गर्ने गरी विधान संशोधनका लागि गृहकार्य भइरहेको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण र जनताको बहुदलीय जनवादको सान्दर्भिकताबारे छलफल गर्ने सो महाधिवेशनले नयाँ नेतृत्व चयन  गर्नेछ। महाधिवेशन अगावै युवालक्षित कार्यक्रम सञ्चालन गर्ने पनि पार्टीले जनाएको छ ।