काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएको छ ।
सडक, नदी किनारा, पार्क, चउर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा भएका चौपाया छाडा हुन् । यिनीहरुको संरक्षण र व्यवस्थापन पालिकाहरुले गर्नुपर्छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ मा यस सम्बन्धी व्यवस्था छ । काञ्जी हाउसमा लगिने गाईबाच्छा राख्ने पूर्वाधारको अवलोकन निरीक्षणका लागि आज कृषि तथा पशुपंक्षी विभाग र प्रमुखको सचिवालयका अधिकारीहरुले स्थलगत अवलोकन गरे ।
‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् । तिर्खा लागेका बेला पानी पाउँदैनन् । विरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उनीहरुलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ ।’ महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा. अवधेश झा भन्छन्, ‘काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका छौँ । हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएका छौँ । दक्षिणकाली नगरपालिकाको वडा नं. ७ सँगको सहकार्यमा पानी, विजुलीलगायत सुविधा प्रबन्ध गर्दैछौँ ।’
दक्षिणकाली नगरपालिका वडा नं. ७ का अध्यक्ष हरिप्रसाद तिमल्सेना भन्छन्, ‘महानगरपालिकाका सडक चौपाया व्यवस्थापन गर्न हामीले सहकार्य गरेका हौँ । यसमा दक्षिणकाली नगर क्षेत्रकै छाडा चौपाया पनि व्यवस्थापनमा सहयोग हुनेछ ।’ काञ्जी हाउसमा पुग्ने सडक खण्डलाई सहज बनाउन भोलि विहान डोजर लगाएर सम्याउने वडाध्यक्ष तिमल्सेनाले जानकारी दिए ।
बुधबारबाट महानगरका चारवटै क्षेत्रबाट सडकमा भएका गाईबाच्छा संकलन गरेर टेकु ल्याइनेछ । संकलित गाईबाच्छालाई सुविधाजनक ढुवानी व्यवस्था गरेर काञ्जी हाउस पु¥याउने छौँ ।’ महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘संकलन र ढुवानीका क्रममा पशुकल्याणलाई ख्याल गरिनेछ ।’
यस ठाउँमा काञ्जी हाउस सञ्चालन गर्न २०७८ फागुन ३ गते काठमाडौँ महानगरपालिका र दक्षिणकाली नगरपालिका बिच सम्झौता भएको हो । सम्झौता हुनुअघि यो ठाउँमा मिलीजुली पशुपालन समूहले पशु पालन गर्दै आएको थियो ।
प्रदेश सरकार र दक्षिणकाली नगरको सहयोग लिएर केही टहरासहितको पूर्वाधार, त्यस क्षेत्रमा पुग्ने बाटो, बिजुली पानीलगायतका सुविधा व्यवस्था गरेर थालिएको पशुपालन कोविड लगायत समस्याबाट नियमित हुन सकेन । यही ठाउँको पूर्वाधार निर्माणमा लागेको खर्च फिर्ता गरेर स्थान सञ्चालन गर्ने सर्तसहित सम्झौता भएको हो ।
सम्झौताबमोजिम लगानी फिर्तासहितका काम गर्न काठमाडौँ महानगरले दक्षिणकाली नगरलाई ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराइ सकेको छ । काञ्जी हाउसमा दैनिक पशु व्यवस्थापन, हेरचाह तथा सरसफाइका लागि महानगरपालिकाले कर्मचारी खटाउनेछ ।
थप पूर्वाधार निर्माण तथा मर्मत सम्भार, मृत जनावरको व्यवस्थापनलगायत काम महानगरपालिकाले गर्नेछ । पशु सेवालाई दैनिक सञ्चालन गर्न खाद्यान्न, औषधी, उपकरणको प्रबन्ध महानगरले गर्नेछ । यस ठाउँमा १२६ रोपनी जमिन छ । यस ठाउँमा महानगरपालिकाले डाले तथा भुइँ घाँस लगाउन सक्नेछ ।
छाडा चौपाया व्यवस्थापन गर्न महानगरपालिकाले विभिन्न प्रयास गर्दै आएको थियो । यसमध्ये चौपाया लिलामी एउटा विधि थियो । सडकमा भएका चौपाया जम्मा गरेर आर्थिक बर्ष २०५७/०५८ एक बर्षमा १६० गाईबाच्छा लिलामी गरिएको थियो ।
यस्तै आर्थिक बर्ष २०७०/२०७१ मा ३८८ वटा चौपाया लिलामी गरियो । लिलामी गर्न पुग्ने संख्या बनाउन त्यसबेला टेकु ट्रान्सफर स्टेशन नजिक काञ्जी हाउस सञ्चालन गरिएको थियो । लिलाम गरिएका चौपाया कहाँ लगिन्छन्? उनीहरु सुरक्षित रहन्छन् त? प्रश्न आएपछि महानगरपालिकाले लिलाम गर्ने प्रक्रिया रोकेको थियो ।
महानगरपालिका क्षेत्रभित्र गाई पालन गर्ने गोठ र सडकमा भएका चौपायाको संख्या एकिन छैन । समय समयमा सडकमा हुने सवारी दुर्घटनाको कारण छाडा चौपाया भएपछि उनीहरुकै सुरक्षाका लागि पनि निश्चित ठाउँमा राख्नुपर्ने भएको छ ।