नेपालगञ्ज । बाँकेस्थित भेरी अस्पतालमा जाजरकोट र पश्चिमरुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उपचार भइरहेको छ । उपचाररत उनीहरु यतिबेला भूकम्पबाट निधन भएका आफन्तको शोकमा छन् । भूकम्पमा घाइते भएकी रुकुम पश्चिम सानीभेरी गाउँपालिका–४ की नविता खत्री अहिले शोकमा छिन । उनको नौ वर्षीय छोरा निर्जलको निधन भएको छ भने चार महिनाका छोरा घाइते छन् ।
उनलाई शनिबार भेरी अस्पताल नेपालगञ्जमा थप उपचारका लागि ल्याइएको थियो । उनको कुम र टाउकामा चोट लागेको छ । “सुरुमा एउटा धक्का आयो, उठ्छु भन्दाभन्दै झन ठूलो भूकम्प आयो”, खत्रीले भनिन् “त्यसबेला अब मर्छु भन्ने लागेको थियो । आधा घण्टा हारगुहार गरेपछि उद्धार भयो ।”
सुरुमा उनको स्थानीयस्तरमा प्राथमिक उपचार भएको थियो । बाँकेबाट मामाघर गएकी कोहलपुरकी २२ वर्षीया ईसा शाहले पनि आफ्ना तीन दिदी गुमाएकी छिन् । दसैँ मनाउन मामाघर जाजरकोट गएकी उनी शुक्रबार सानीआमाको घरमा गएकी थिइन् । काठमाडौँमा स्नातक पढ्दै गरेकी शाहले भूकम्पमा च्यापिएपछि करिब एक घण्टासम्म उद्धारका लागि चिच्याइरहेको बताइन् । “हामी सँगै सुतेका थियौँ । मैले धेरै पटक दिदीहरुलाई बोलाए तर बोल्नुभएन”, उनले भनिन् ।
भूकम्पमा गुमाएका दिदीहरु ठूलीआमाका छोरी भएको शाहले बताइन् । उनले दिदीहरु मेरिना आरसी, ऊर्जा सिंह र उपासन सिंहलाई गुमाएको बताइन् । जाजरकोटकी कृष्णा परियार भूकम्पमा दुई छोरा, एक छोरीसहित घाइते भएकी छिन् । “हामी माथिल्लो तलामा सुतेका थियौँ । एक्कासी एकै झड्कामा हामी सबै ढल्यौँ”, उनले भनिन् ।
सुतेको बेलामा घरको छाना ढुङ्गाले च्यापिएर आफूहरु घाइते भएको परियारले जानकारी दिइन् । घरको कुनै नाम निशाना नभएको जनाउँदै उनले आफूहरुलाई पुरिएका अवस्थामा उद्धार गरिएको बताइन् । “म त पुरिएको अवस्थामा बेहोस थिए । उद्धार गरेपछि चेत आयो”, घटना विवरण सुनाउँदै परियारले भनिन्, “म बच्चासँगै खाटमा सुतेकी थिएँ । छोरीले बचाउबचाउ भनिरहेकी थिइन् । माथिल्लो तलामा सुतेकाले भाग्न सकेनौँ ।” उनका श्रीमान् भारतमा रोजगारीमा छन् । उनी आजै घर फर्किदै छन् ।
जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा घाइते भएकाको भेरी अस्पताललाई विशेष सेवा प्रदायक (डेडिकेडेट) अस्पतालका रुपमा स्थापना गरी उपचार भइरहेको छ । कोहलपुर मेडिकल कलेजमा भएका एक जना बिरामीलाई भेरीमा स्थानान्तरण गरेर उपचार भइरहेको अस्पतालका ‘फोकल पर्सन’ तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनसार अस्पतालमा घाइतेहरु ३८ जनाको उपचार भइरहेको छ । “यसअघि शनिबार एक जना बिरामीको बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको थियो । भूकम्पमा गम्भीर घाइते भएका पाँचको शल्यक्रिया सफल भएको छ”, श्रेष्ठले भने, “सबै बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त छ ।” उनका अनुसार उपचार गराइरहेकामध्ये जाजरकोटका २४, रुकुम पश्चिमका १३ र सल्यानका एक जना छन् ।