काठमाडौँ । आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोट उपाधिका लागि अहिले नेपाल र ओमान खेलिरहेका छन् ।
काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले ब्याटिङ राजेपछि ओमान फिल्डिङमा उत्रिएको छ । नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।
नेपाल र ओमान दुबै टिम सन् २०२४ मा हुने टी ट्वान्टी विश्वकपमा छनोट भैसकेका छन् । आजको खेल दुबै टोलीका लागि प्रतिष्ठाको खेल मात्र हुनेछ ।
घरेलु टोली नेपाल ओमानसँग समूह चरणको पाँच रनको हारको बदला लिँदै उपाधि जित्न चाहन्छ । समूह चरणमा जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १ सय ४० रनमा अल आउट भएको थियो ।
पछिल्ला पाँच टि–ट्वान्टी खेलमा नेपाल तीन र ओमान दुई खेलमा विजयी भएका छन् । नेपाल र ओमानबीचको खेल कडा हुने अनुमान गरिएको छ ।