रुकुम र जाजरकोटमा नेपाल टेलिकमको फोन तथा म्यासेज ५ दिन निःशुल्क



काठमाडौं । सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको छ ।

सरकारको निर्णयसँगै नेपाल टेलिकमले विज्ञप्ति जारी गरेर भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनका लागि फोन तथा म्यासेज निःशुल्क गरिएको जानकारी दिएको छ ।


नेपाल टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘सूचना आदान–प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहनुभएका कम्पनी (नेपाल टेलिकम)का सम्पूर्ण मोबाइल ग्रहकलाई पाँच दिनको अवधिका लागि निःशुल्क भोइस तथा एसएमएस सेवा उपलब्ध गराइएको छ ।’

त्यसका साथै, नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनको अवधिका लागि निःशुल्क भोइस र एसएमएस सेवा सहितको निःशुल्क सिमसमेत उपलब्ध गराउने भएको छ । टेलिकमका अनुसार सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटस्थित टेलिकमको कार्यालयबाट उक्त निःशुल्क सिम लिन सकिने छ ।

उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा समेत प्रदान गर्ने टेलिकमको विज्ञप्तिमा उल्लेख गरेको छ ।