भारतमा ट्रकको ठक्करबाट सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु



काठमाडौं । ट्रकले ठक्कर दिँदा भारतमा रोजगारीका लागि गएका सुर्खेतका एउटै परिवारका पाँचजनाको मृत्यु भएको छ ।

भारतको कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा सुर्खेत चौकुने गाउँपालिका–७ का एउटै परिवारका पाँचजना नेपालीको मृत्यु भएको हो ।


मृत्यु हुनेमा सुर्खेत चौकुने–७ अमलाटाकुराका २७ वर्षीय रतन नेवारसहित उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका ५ वर्षीय छोरा मिलन, अर्का दुई वर्षीय छोरा धड्कन र भाइबुहारी सुस्मिता नेवार रहेको चौकुने–७ का वडाध्यक्ष धनिराम धमलाले बताए ।

मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचार गराई रहेका र बिरामी दाइलाई भेटेर फर्किने क्रममा उनीहरुलाई ट्रकले ठक्कर दिइएको जानकारी प्राप्त भएको वडाअध्यक्ष धमलाले जानकारी दिए ।

मृतक नेवारका परिवार एक वर्षदेखि रोजगारीका लागि भारत गएका थिए । चौकुने घरमा बुढा बुबाआमा मात्रै रहेको जनाइएको छ । बाबुआमा मात्रै रहेको र बाँकी सबै परिवार रोजगारीका लागि भारतमै रहेको धमलाले बताए । घटनाको अनुसन्धानका लागि त्यहाँको प्रशासनसँग माग गरिएको त्यहाँ रहेका नेपालीलाई उदृत गर्दै वडाध्यक्ष धमलाले बताए ।