सरकारले भूकम्प प्रभावित क्षेत्रमा पठायाे विशेषज्ञ सहित ४१ जना चिकित्सकको टोली



काठमाडौं । सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा विशेषज्ञ चिकित्सकसहितको ४१ जना स्वास्थ्यकर्मीको टोली पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज विहान उक्त टोली त्यसतर्फ गएको जानकारी दिए ।

उनका अनुसार टोलीमा नेपाल सैनिक अस्पतालबाट १६ जना, नेपाल प्रहरी अस्पतालबाट ११ जना, सशस्त्र प्रहरी अस्पतालबाट ४ जना र वीर अस्पतालबाट ६ जना चिकित्सक र नर्स छन् । ‘चिकित्सक टोली जिल्ला अस्पतालमै घाइतेको शल्यक्रिया गर्ने व्यवस्थासहित गएको छ’, उनले भने, ‘हामीले आवश्यकअनुसार केन्द्रबाट थप जनशक्ति पठाउने छौँ ।’


गए राति जाजरकोट र पश्चिम रुकुममा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले गएको थियो । भूकम्पबाट हालसम्म १५४ जनाकाे ज्यान गइसकेकाे छ भने सयाैंकाे संख्यामा घाइते भएका छन् ।