पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले कोशी प्रदेशमा आफूहरुले नयाँ ‘एक्सपेरिमेन्ट’ गरेको बताएका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति कास्की क्षेत्र नं १ को प्रथम क्षेत्रीय सम्मेलनको आज पोखराको लेखनाथमा उद्घाटन गर्दै नेता डा कोइरालाले कांग्रेसकै नेताले मुख्यमन्त्री माओवादीलाई दिने कुरा मान्य नभएकाले नयाँ ‘एक्सपेरिमेन्ट’ गरिएको बताए ।
उनले व्यावहारिक राजनीतिका नाममा आफ्नो सिद्धान्तलाई कांग्रेसले छाड्न नहुनेसमेत बताए । उनले भने– “सिद्धान्तहिन राजनीति अगाडि बढ्दा कांग्रेसका कार्यकर्तामा निराशा पैदा भएको छ । आउँदो निर्वाचनमा कांग्रेसले चुनाव एक्लै लड्नुपर्दछ, कार्यकर्ताको माग पनि त्यही छ ।” नेता कोइरालाले कांग्रेस एक ढिक्का भएर निर्वाचनमा जाँदा कुनै पनि शक्तिले हराउन नसक्ने उल्लेख गरे ।
अहिले कांग्रेसलाई कांग्रेसले नै हराइरहेकाले सो कार्य बन्द हुनुपर्ने उनको भनाइ थियो । “कांग्रेस भ्रष्टाचारमुक्त समाज बनाउन चाहन्छ, जनताप्रति उत्तरदायी भई जनताको सेवामा अगाडि बढ्न आवश्यक छ”, उनले भने । अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र दल लाग्नुपर्नेमा जोड दिँदै नेता कोइरालाले भने, “महँगी नियन्त्रणमा वर्तमान सरकारले चासो दिनु जरुरी छ । महँगी नियन्त्रणका बारेमा कांग्रेसले आवाज उठाउनुपर्दछ । वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिँदै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न लाग्नुपर्दछ ।”
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेसलाई बलियो बनाउन सकेको खण्डमा लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने बताए । उनले नेपाली जनताको विश्वास कांग्रेसमाथि भएकाले जनताको सेवामा कांग्रेस कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले कांग्रेसले गरेका काम प्रचारमा ल्याउन नसक्दा पार्टी पछाडि परेको बताए ।
शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माणमा कांग्रेस सरकारको पालामा धेरै उपलब्धि भएको उनको भनाइ थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, गण्डकीका सभापति शुक्रराज शर्मा, कास्कीका सभापति किशोरदत्त बराल, कांग्रेस नेता यज्ञबहादुर थापा, कृष्ण केसीलगायतले आ–आफ्ना भनाइ राखेका थिए ।