आईसीसी टी–२० विश्वकप छनोट : आज नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा



काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया फाइनल छनोटमा आज नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ । 

बिहान ९ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुने खेलमा आज नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । यस्तै सिंगापुर पनि जित निकाल्ने योजनाका साथ मैदानमा उत्रने छ ।


नेपालले आयोजना गरेको टी–२० विश्वकपको एसिया छनोटका खेलहरू त्रिवि मैदानका साथै मूलपानी क्रिकेट मैदानमा हुनेछन् । समूह चरणमा नेपालले सबै खेल कीर्तिपुर मैदानमा खेल्नेछ ।

कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । नेपालले दोस्रो खेल भोलि मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ । 

यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

आज अन्य तीन खेल पनि हुँदैछन् । आज बिहान ९ बजे मूलपानी मैदानमा बहराइन र यूएई, दिउँसो साढे १ बजे टीयू मैदानमा ओमान र मलेसिया तथा सोही समयमा मूलपानी मैदानमा हङकङ र कुवेत खेल्नेछन् ।