गुटेरेसको भ्रमणपछि राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध थप मजबुत हुनेछ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको चारदिने औपचारिक नेपाल भ्रमणबाट राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्धलाई थप मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

महासचिव गुटेरेससँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको औपचारिक भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार तथा सहजीकरण गर्न यो भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 


उक्त छलफल नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट स्तरोन्नति र दिगो विकासलगायतका विषयमा केन्द्रित भएको प्रधानमन्त्री दाहालले बताए । 

“निकै सौहार्दपूर्ण वातावरणमा दुईपक्षीय हितका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा विश्वासका साथ हामीले छलफल ग¥यौँ । मुख्यरुपमा जलवायु परिवर्तनको विषयमा गम्भीररुपमा चर्चा भयो”, प्रधानमन्त्री दाहालले भने,  “नेपालमा जलवायु परिवर्तनका नकारात्मक असरको न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायमा संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतले उहाँले खल्नुभएको भूमिकाको उच्च प्रशंसा ग¥यौँ ।” 

जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आगामी दिनमा राष्ट्रसङ्घलगायत द्विपक्षीय तथा बहुपक्षीप अन्तर्राष्ट्रिय निकायबाट सहयोगको अपेक्षा गरेको प्रधानमन्त्री दाहालले बताए । 

त्यस्तै, नेपालको शान्ति प्रक्रिया चाँडै टुङ्गिने विश्वास पनि प्रधानमन्त्री दाहालले व्यक्त गरे । “अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउनका लागि अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतले उहाँको महत्त्वपूर्ण भूमिका रहने विश्वास हामीले लिएका छौँ”, उनले भने । 

नेपालको आर्थिक विकास र समृद्धिका बारेमा पनि छलफल भएको प्रधानमन्त्री दाहालले बताए । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा रहेकाले यो प्रक्रिया सहज बनाउन तथा तोकिएको समयमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न पनि प्रधानमन्त्री दाहालले राष्ट्रसङ्घ महासचिव गुटेरेससँग आग्रह गरे । 

“असाध्यै सकारात्मक छलफल भएको छ । यहाँको राजनीतिक उतारचढाव र शान्ति प्रक्रियाबारे उहाँलाई राम्रो थाहा छ । मौसम परिवर्तनका असरबारे पनि छलफल भयो”, प्रधानमन्त्री दाहालले भने, “विश्व शान्ति निर्माणका लागि नेपालको शान्ति सेनाले खेलेको भूमिकाको पनि उनले मुक्तकण्ठले प्रशंसा गरे । हामीले पनि हाम्रो योगदानको सम्मान होस् भन्ने विषय राख्यौँ ।”

राष्ट्रसङ्घका महासचिव गुटेरेसले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउँदसँग पनि औपचारिक भेटवार्ता गरेका थिए ।