तेल अभिभ । इजरायली सेनाले गाजामा हमासको लक्ष्यमा आक्रमणलाई तीव्र पारेको छ । पछिल्लो २४ घण्टामा इजरायली सेनाले ४ सयभन्दा बढी लक्ष्यमा बमबारी गरेको छ । सो आक्रमणमा हमासका तीन उपकमान्डरसहित सयौं प्यालेस्टिनी नागरिक मारिएका छन् ।
गाजामा २४ घण्टामा ७०४ जनाको मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । इजरायलले मस्जिदमा बनेका हमासका कमाण्ड सेन्टरहरू भत्काएको र समुद्र हुँदै इजरायलमा घुसपैठ गर्ने एउटा सुरुङ पनि ध्वस्त पारेको बताएको छ ।
इजरायली हवाई आक्रमणमा हालसम्म ५ हजार ७९१ प्यालेस्टिनी नागरिकको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये पछिल्लो २४ घण्टामा भएका आक्रमणमा ७०४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ हजार ३६० बालबालिका र १ हजार १ सयभन्दा बढी महिला रहेको मन्त्रालयले जनाएको छ ।
सोही क्रममा बम विष्फोटका कारण एकै दिनमा १५ घर ध्वस्त भएको अधिकारीहरुले बताएका छन् । खान युनिसको पेट्रोल पम्पमा भएको बम विष्फोटमा एकै परिवारका केही सदस्यसहित कैयौंको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।
तिनीहरू सबै पूर्वी गाजाबाट भागेर पेट्रोल स्टेशनमा शरण लिएका थिए । मङ्गलबार गाजा पट्टीमा इजरायली हवाई आक्रमणले धेरै आवासीय भवनहरू ध्वस्त पारेको छ र धेरै परिवारहरू भग्नावशेषमुनि गाडेका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई पूर्णतया निर्मूल गरेपछि मात्र अभियान समाप्त हुने दोहोर्याएका छन् ।
इजरायलले मङ्गलबारको उच्चस्तरीय संयुक्त राष्ट्रसङ्घको बैठकमा गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्र प्रमुख, प्यालेस्टाइन र धेरै देशहरूले गरेको आह्वानलाई अस्वीकार गर्दै हमासलाई पूर्ण रूपमा नष्ट गर्ने वाचा गरेको छ । इजरायलले गाजाको द्वन्द्व सम्पूर्ण स्वतन्त्र विश्वका लागि युद्ध भएको बताएको छ ।
इजरायली विदेश मन्त्री एली कोहेनले अक्टोबर ७ को हमासको आक्रमणको प्रतिक्रियामा गाजामा कारबाही रोक्नको लागि आह्वान अस्वीकार गरे । उनले नवजात शिशु मार्ने, महिलालाई बलात्कार गर्ने, जलाइने र बच्चाको टाउको काट्नेको बदला के हुनसक्छ भनेर प्रश्न गरेका थिए ।