कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार



काठमाडाैँ । नेपाली कांग्रेसले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट प्रदेश नं १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा र सुदूरपश्चिम प्रदेशमा नारायणदत्त मिश्रलाई उम्मेदवारमा मनोनयन गर्ने निर्णय गरेको छ ।


माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन ऐक्यबद्ध ढङ्गले अघि बढ्ने सहमति बमोजिमका उम्मेदवारहरूलाई विजयी गराउन बैठकले सबै मतदाताहरूलाई हार्दिक आह्वान गरेको उनले बताए । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।