ठूला परियोजनामा लगानी गर्न एनआरएनलाई अध्यक्ष ढकालको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले ठूला परियोजनामा लगानी गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अझै ठूलो परियोजना सञ्चालन गर्न आवश्यक रहेको भन्दै लगानी गर्न आग्रह गरेका हुन् ।


एनआरएनए स्थापनादेखि नै नेपाल तथा विदेशमा जोडिँदै आएको भन्दै उनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताए । नेपालको निजी क्षेत्रले छोटो समयमा लगानीबाट फाइदा लिएकाले एनआरएनएले पनि लिन सक्ने बताए ।

सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण थालेकोमा धन्यवाद व्यक्त गर्दै उनले लगानीको लागि कुनै अप्ठेरो सिर्जना भए सहजिकरण गर्ने बताए ।