कोशी विद्रोह बारे सभापति देउवा र नेता कोइरालाले जवाफ दिनुपर्छ : महामन्त्री शर्मा



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीमा भएको विद्रोह बारे सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाले जवाफ दिनुपर्ने बताएका छन् ।

सभापति देउवाले बोलाएको उपसभापति र महामन्त्रीहरुको बैठकपछि बोल्दै महामन्त्री शर्माले कोशीको विद्रोह बारे बैठकमा आफ्नो धारणा राखेको बताउदै नेतृत्वले अब यसलाई समाधान गर्नुपर्ने बताए ।


उनले अब कांग्रेसको मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताउदै यो घटनामा सभापति देउवा र नेता कोइराला दुवै जिम्मेवार रहेकोले उनीहरुले जवाफ दिनुपर्ने बताएका छन् ।

गठबन्धन गरिसकेपछि त्यसलाई निभाउनुपर्ने आफ्नो धारणा रहेको बताउदै उनले कोशीको अवस्था सिर्जना हुनुमा सभापतिको पनि कमजोरी रहेको टिप्पणी गरे ।

उनले भने- ‘कोशीमा कुनै दलको भागमा भनेर निर्णय भएको थिएन । कोशी प्रदेशमा एमालेसहितको सरकार बन्नुपर्छ भन्ने हामी दुई महामन्त्रीको जोड थियो । पटक पटक विश्वासको मत सिद्ध गर्न नसकेको अवस्था आयो । सभापतिले माओवादीको नेतालाई मुख्यमन्त्री बनाउने निर्णयमा पार्टीका हामी दुई महामन्त्रीको साथ थिएन । तर यसको अर्थ माओवादीले पाउनु हुदैन भन्ने होइन ।’

सभापतिले निर्णय गरे पनि त्यो निर्णय पार्टीको हुने चलन कांग्रेसमात्र नभएर अन्य दलमा पनि रहेको उनले बताए । महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्ड, सभापति देउवा र शेखर कोइरालाबीच सहमति भएको विषयमा आश्चर्य व्यक्त गरे । गठनबाटै प्रधानमन्त्री रहेका प्रचण्डले गठबन्धनप्रति प्रतिबद्ध छौं भनेर किन सहमति गर्नुपर्ने भन्दै प्रश्न गरेका छन् ।