कोशी प्रकरणमा विश्वप्रकाशको टिप्पणी- घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न



काठमाडौँ । कोशी प्रदेशमा सरकार निर्माणको क्रममा कांग्रेस विभाजित भएपछि महामन्त्री विश्वप्रकाश शर्माले अन्तत: आफ्नो मुख खोलेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै कोशी घटनालाई डढेलो बन्न नदिन संयम र परिपक्वता राख्न आग्रह गरेका छन् । 

महामन्त्री शर्माले सधैभरि यही गठबन्धन बोक्न जरुरी नभएको विचार राख्दै तर अर्को गठबन्धन बनाउदा पार्टीले संस्थागत निर्णय गर्नुपर्ने बताएका छन् ।  उनले भनेका छन्- ‘यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौं । सँधै यो बोकिरहनुपर्छ, जरुरी छैन । तर संस्थागत निर्णय नगरी हामी कसैलेपनि आवेगमा कुनै निर्णय लिनुहुन्न ।’ 


साथै उनले सल्लाहले `डिभोर्स´ गर्न मिल्छ भन्दै घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु नहुने बताउदै एमालेसँग शेखर कोइराला समुहले गरेको सहकार्य अस्वीकार गरेका छन् । महामन्त्री शर्माले की गठबन्धन गर्नुहुन्न,गरेपछि राम्रो-नराम्रो सबै ब्यहोर्नुपर्छ भन्दै एकल बहुमत नभएपछि सहकार्यको संस्कृति मान्नैपर्ने बताएका छन् ।

उनले भनेका छन्- ‘सहकार्यको संस्कृति पालना गर्न हामीलाई निर्वाचनले नै निर्देश गरेको स्थिति हो । गणितनै त्यस्तो छ, एक्लै कुनै दलले संघ या प्रदेशमा नेतृत्व गर्न सक्दैन । यस्तो बेला नेतृत्वले निरन्तर संवाद मार्फत संगठित संयम र एकीकृत परिपक्वता प्रस्तुत गर्न जरुरी छ ।’

साथै उनले सभापति देउवाले व्यक्ति चयनमा संस्थागत प्रक्रिया नअपनाएको उल्लेख गर्दै फरक विचार समुहले पनि आफ्नो समुहमा साझा मत नखोजेकोमा उनले आलोचना गरेका छन् । उनले दुवै पक्षको कार्यशैली उस्तै भएको टिप्पणी गरेका छन् । 

उनले भनेका छन्- ‘जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस् । हामी बदलिन तयार छौं । पार्टीको हित तपाईं हामी बदलिनुमा सन्निहित छ ।’