सरकार सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित : विष्णु पौडेल



काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार मुलुकको समस्याप्रति गम्भीर नबनेको आरोप लगाएका छन् । 

प्रेस चौतारी रुपन्देहीले आइतबार बुटवलमा गरेको कार्यक्रममा बोल्दै पौडेलले देशमा बेथिति र समस्याका चाङहरू हुँदा समेत सरकारको ध्यान सत्ता टिकाउनकै लागि केन्द्रित भएको बताए । 


कर्मचारीले ऋण गरेर तलब खुवाउनुपर्ने अवस्था र निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी गर्न नसकेको अवस्थामा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै उनले मुलुकको राष्ट्रपति रामचन्द्र पौडेलले पदीय मर्यादा विपरीत दलको नेताहरू भएर काम गर्न नहुने बताए । पौडेलले सरकारले अपराधीलाई प्रोत्साहन गरेर पीडितलाई तर्साउन खोजेको जिकिर गरे । 

उनले धार्मिक सद्भावमा र साम्प्रदायिक सद्भाव खलबलाउने प्रयासविरुद्ध सचेत बन्नुपर्ने धारणा राखे ।