राष्ट्रसंघका महासचिव गुटेरेस कार्तिक १२ गते नेपाल आउने



काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस कार्तिक १२ गते नेपाल आइपुग्ने भएका छन् । इजरायलमाथि हमासको आक्रमणका कारण स्थगित भएको उनको भ्रमणको नयाँ समय तय भएको हो ।

गुटेरेस आउँदो कार्तिक १२ गते नेपाल आइपुग्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका निजी सचिव रमेश मल्लले जानकारी दिए ।


यसअघि उनी आज नेपाल आउने र संघीय संसदमा सम्बोधन गर्ने कार्यसूचि थियो । तर, इजरायलमा बढेको तनावका कारण राष्ट्रसंघका महासचिव गुटेरेसले आफ्नो भ्रमण स्थगित गरेका थिए ।

राष्ट्रसंघका महासचिव आउने भएपछि सरकारले आजैदेखि अन्त्य गर्ने भनेको संघीय संसदको चालु अधिवेशन तत्काल अन्त्य नहुने भएको छ ।

राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री प्रचण्डले गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।