माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक, मतदान भोलि



काठमाडौं, पुस १७ गते । नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनअन्तर्गत निर्वाचन कार्यातालिक सार्वजनिक भएको छ । माओवादी केन्द्रको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

समितिले मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो । शनिबार अपराह्न ४ बजेसम्म मतदाता उपर दाबी विरोधको सयम, मतदाता नामावलीमा दाबी विरोधको सूचना ४ः१५ बजेसम्म, ४ः५० सम्म दाबी विरोधमाथि अन्तिम निर्णय लिएसँगै मतदाता नामावली सार्वजनिक हुनेछ ।


यसैगरी, उम्मेदवार मनोनयनको प्रक्रिया शनिबार साँझ ८ बजेदेखि सुरु हुने समितिले जनाएको छ । साथै राति साढे १० बजे उम्मेदवार मनोनयन पछिको सूची सार्वजनिक गरिने छ ।

त्यस्तै आइतबार बिहान ८ बजेदेखि साढे ८ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय छुट्याइएको छ भने ८ः३५ मा उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना समितिले दिने छ ।

यसैगरी, उजुरी उपर छानबिन ८ः४० देखि ९ बजेसम्म, ९ः१० बजे उम्मेदवारकाे नामावली सार्वजनिक, ९ः३० देखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय, ११ः४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ । त्यसपछि साढे ११ देखि ४ बजेसम्म मतदान हुने समितिले जनाएकाे छ ।