जहाज थपेर दुर्गमका जनतालाई सेवा दिने प्रधानमन्त्रीको चाहाना पुरा हुन्छ : पर्यटनमन्त्री



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जहाज किनेर दुर्गमका जनतालाई सेवा दिने प्रधानमन्त्रीको चाहाना पुरा हुने बताएका छन् । 

वायुसेवा निगम बोर्डका पदाधिकारीसँगको छलफलमा मन्त्री किरातीले सो कुरा बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीको समृद्धिको चाहाना जसरी पुरा गर्नुछ । देशमा समृद्धि ल्याउन पर्यटनबाट सम्भव छ । पर्यटनका लागि हाम्रोजस्तो भूपरिवेष्टित राष्ट्रका लागि जहाज अनिवार्य छ ।’  


उनले वायुसेवा निगम बोर्डका पदाधिकारीहरूलाई एक पैसा भ्रष्टाचार नगरी जहाज खरिद गर्न निर्देशन पनि दिए । ‘एक पैसा भ्रष्टाचार नगरी जहाज खरिद गर्नुहोस्, कानुनअनुसार काम नगर्ने र कानुन विपरीत काम गर्ने दुवै अपराधी हुन् । यो मेरो लागि सहिए कुरा हुनै सक्दैन ।’ उनले भने ।

प्राविधिक समस्याले अहिले दुई वटा जहाज ग्राउण्डेड रहेकोले विदेशमा अलपत्र नेपालीको उद्धार गर्न नसकेको पनि उनले जानकारी दिए । मन्त्री किराताीले भने– ‘आज दुई ओटा जहाज प्राविधिक समस्याले ग्राउण्डेड हुँदा मलेसिया र नयाँ दिल्लीमा अलपत्र परेको नागरिकलाई उद्धार गर्न सकिएको छैन । ’

दुर्गममा जनताको लागि तीन वटा साना जहाज र व्यवसायिक  प्रयोजनका लागि ७२ सिटको तीन जहाज र न्यारो र वाइडबडी गरी १० वटा जहाज आवश्यक भएको पनि मन्त्री किरातीले बताए ।