मुगुमा सुपथ मूल्य पसल सञ्चालन



मुगु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले सुपथ छुट मूल्यमा चामल तथा दाल बिक्री गर्न सुरु गरेको छ । नेपालीहरुको चाड दशैं, तिहार र छड पर्वलाई लक्षित गर्दै खाद्य कम्पनी मुगुले आइतबारदेखि चामलमा प्रतिकिलो ७ रुपयाँका दरले छुट दिई बिक्री गर्न सुरु गरेको हो ।  जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्कीले सुपथ मुल्य पसलको उद्घाटन गर्दै छुट मूल्यमा चामल तथा दाल बिक्री गर्न सुरु गरिएको हो । 

उद्घाटन कार्यक्रममा बोल्दै समन्वय प्रमुख कार्कीले सरकारले चाडपर्वमा कोही नेपालीले खाद्यान्न नपाएर खल्लो पर्व मनाउनु नपरोस् र बजारमा भएको चामल चर्को मूल्य तिरेर उपभोग गर्दे आएका मुगुका नागरिकले यो पसल सञ्चालन गरेपछि बजारमा भएको मूल्यवृद्धिलाई पनि नियन्त्रण गर्ने अपेक्षा गरे ।


कम्पनीले मुगुमा हालका लागि ३ प्रकारका चामल बिक्री गर्नेछ । चाडपर्वलाई लक्षित गरी मुगु शाखाले १५ सय क्विन्टल चामल सहुलियत मूल्यमा बिक्री गर्नेछ । कम्पनीले मंसिर ३ गतेसम्म सहुलियत मूल्यमा छुट दिने मुगु शाखाका कार्यालय प्रमुख पुस्कर भामले जानकारी गराए । उद्घाटन कार्यक्रममा प्रमुख कार्कीले सेवाग्राही छायाँनाथ रारा नगरपालिका-१३ रुगाका ईन्द्रजित लावडलाई छुट मूल्यका चामल वितरण गरेका थिए ।

चर्को मूल्य हालेर उपभोग गर्दै आएका मुगुका नागरिकले यो पसल सञ्चालन गरेपछि केही राहत महसुस छन् । एक सय रुपैयाँ बचत भए पनि नुन तेल उपभोग गर्न सघाउ पुग्ने छायाँनाथ रारा नगरपालिकाका १३ का खुम्मेनी कामीले बताइन् । बजारको २ हजार देखि २५ सयसम्म महंगो चामल खाएर गुजारा चलाएका मुगुका नागरिकहरुमा सहुलिय मूल्यको पसल सञ्चालनमा आएपछि खुसी देखिएको ७० वर्षिया ज्येष्ठ नागरिक हरिसिंह कामीले बताए ।