लाओसको ऋण संकट अझ गहिरिँदै



भिएन्टिएन । दक्षिणपूर्वी एसियाली मुलुक लाओसको राजधानी भिएन्टिएनस्थित प्रख्यात पाटुसाई स्मारक नजिकै ‘चाइना एड’ को बोर्ड राखिएको छ । फ्रान्सबाट स्वतन्त्रता प्राप्त गर्न युद्धमा लडेका सेनानीहरुका लागि समर्पित यस स्मारकनजिकै यस किसिमको बोर्ड राखिएकोमा यस मुलुकका धेरै मानिसहरु असन्तुष्ट छन् । त्यहीँ ‘समान भविष्यका लागि’ भन्ने सन्देश पनि लेखिएको छ । आर्थिक संकटबाट गुज्रिरहेको लाओसमा यस बोर्डले धेरैको ध्यान तानेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको सन् २०२३ को तथ्यांकअनुसार लाओसले आफ्नो कूल ग्राहस्थ उत्पादनको १२३ प्रतिशत धेरै ऋण लिएको छ । यसमध्ये लाओसले आधाभन्दा धेरै ऋण त चीनसँग लिएको छ । लाओसमा भौतिक पूर्वाधारका परियोजनाको विकास गर्न भन्दै चीनले यति ठूलो ऋण प्रदान गरेको हो ।


यद्यपि यस प्रकारको ऋणमा कुनै पारदर्शीता भने छैन । अस्ट्रेलियाको सिड्नीमा रहेको लोवी इन्स्टिच्युटमा हिन्द प्रशान्त विकास केन्द्रकी वरिष्ठ अर्थशास्त्री मारिजा कुरे लाओसको ऋणमा अपारदर्शीता ‘यसअघि कहिल्यै नदेखिएको स्तरमा रहेको बताउँछिन् । उनका अनुसार लाओसमा ऋणको संकट विश्वले थाहा पाएभन्दा भयानक छ । अपारदर्शीता र सूचना एवम् तथ्यांक सार्वजनिक नहुनु यसको सबैभन्दा ठूलो कारण रहेको उनको भनाइ छ ।

लाओसमा चिनियाँ ऋणमा रेलमार्गको निर्माण गरिएको छ । ५ अर्ब ९० करोड लगानीमा निर्मित यस रेलमार्गले दक्षिणी चीनको कुन्मिङ सहरलाई लाओसको राजधानी भिएन्टिएनसँग जोड्दछ ।

दक्षिणपूर्वी एसियालाई रेलमार्गबाट जोड्ने चीनको महत्वकांक्षी परियोजनाको एक हिस्साको रुपमा यस रेलमार्गलाई लिइन्छ । सन् २०२१ को डिसेम्बर महिनामा सञ्चालनमा आएको यस रेलमार्गमा चीनको सरकार नियन्त्रित कम्पनीको ७० प्रतिशत र लाओस सरकारको बाँकी ३० प्रतिशत हिस्सेदारी छ ।

विद्युत निर्यात गर्ने उद्देश्यका साथ लाओसले मिकङ नदीमा बाँध निर्माणका लागि पनि चीनसँग ऋण लिएको छ । तर, ऋण संकट गहिरिँदै गएपछि सन् २०२१ मा लाओसले इलेक्टिसिते दु लाओस ट्रान्सिमिसन नामक कम्पनीलाई २५ वर्षसम्मका लागि अनुदानमा विद्युत सेवा सञ्चालनको अनुमति दियो । यस कम्पनीको बहुसङ्ख्यक सेयर चिनियाँ स्वामित्वमा रहेको छ ।

अस्ट्रेलियाको जेम्स कुक विश्वविद्यालयमा कार्यरत किएरिन सिम्स भने लाओस सरकारको आर्थिक अव्यवस्थाका कारण दिगो विकास हुन नसकेको बताउँछन् ।

आगामी ५ वर्षसम्म ऋण तिर्नका लागि लाओसले हरेक वर्ष कम्तीमा १ अर्ब २० करोड डलर खर्चिनुपर्ने एसियाली विकास बैंक एडीबीले जनाएको छ । यता मुलुकको कूल ग्राहस्थ उत्पादन भने केबल १४ अर्ब ९ करोड डलरमात्रै रहेको छ । एडीबी लाओसकी वरिष्ठ अर्थशास्त्री एम्मा एलेनले मुलुकको सार्वजनिक ऋण संकटग्रस्त अवस्थामा रहेको बताएकी छिन् ।

अर्कोतर्फ डलरको तुलनामा लाओसको मुद्रा किपको अवमूल्यन तीव्र गतिमा भइरहेको छ । पछिल्ला दुई वर्षको अवधिमा किमको मूल्य आधाले घटेको छ । यस कारण आयातमा आधारित लाओसको अर्थतन्त्रमा तीव्र मुद्रास्फीति मापन गरिएको छ ।

एडीबीकी अर्थशास्त्री एलेनका अनुसार यस वर्षको जनवरीदेखि अगस्टसम्म लाओसमा खाद्यान्नको मुद्रास्फीति दर औसतमा ४६ प्रतिशतसम्म पुगेको थियो । प्रमुख ऋणदाताहरुले पनि लाओसले ऋण तिर्नसक्नेमा विश्वास गुमाइसकेका छन् । हाल लाओसलाई ‘ऋण दिन सबैभन्दा धेरै जोखिम रहेको मुलुक’ को सूचीमा राखिएको छ ।