सुन प्रकरणमा भरियामात्रै समातिए : झलनाथ खनाल



रुपन्देही । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारबिरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् ।

पार्टीको समाजवादी जागरण अभियान अन्र्तगत आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले सुशासन र भ्रष्टाचारबिरुद्ध सरकारले अभियान सुरु गरेपछि बिभिन्न प्रकरणहरु बिचैमा तुहिएकाले सरकारको अभियान प्रभावकारी हुन नसकेको बताएका हुन् ।


उनले सुन तस्करी प्रकरणमा पनि मुख्य मान्छे नभई भरियामात्रै समातिएको जिकिर गरे । समाजमा दलाल पूँजीवाद हावी भएका कारण चाहेर पनि मुलुकबाट भ्रष्टचार अन्त्य हुन नसक्ने उनको भनाइ छ ।

नेता खनालले अर्धसामान्ती व्यवस्था र अहिलेको पुँजीवादी व्यवस्था शोषण मूलक व्यवस्था रहेकाले समाजविना देशलाई निकास दिन नसक्ने बताए । उनले देशमा रोजगार नहुँदा युवाशक्तिहरु विदेशी भूमिमा पलायन हुनु परेको बताउँदै देशमा नै रोजगारीको सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे ।

नेता खनालले मुलुकमा रोजगारी बृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै अभियानले मुलुकलाई निकास दिने दाबी गरे ।