सिक्किममा आएको बाढीमा परी २२ सैनिकसहित कम्तीमा १०५ जना बेपत्ता



उत्तर पूर्वी भारतीय राज्य सिक्किममा बुधबार आएको बाढीका कारण २२ सैनिकसहित कम्तीमा १०५ जना हराइरहेका अधिकारीहरूले बताएका छन् ।

सानो क्षेत्रमा अचानक आएको भीषण वर्षाले निम्त्याएको उक्त विपदमा परी १४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । २२ हजारभन्दा धेरै मानिसहरू प्रत्यक्ष प्रभावित भएका बताइएको छ ।


त्यस क्षेत्रमा २१ वटा सहायता शिविरहरू स्थापना गरिएको अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग कुरा गर्दै सबैखाले सहायताको लागि आश्वस्त पारेको बताएका छन् ।

मङ्गलबार रातिबाट सिक्किम राज्यको उत्तरी भेगमा पर्ने ल्होनक हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षा भएपछि लाचेन उपत्यकाको टिस्टा नदीमा एकाएक पानीको सतह बढेको थियो ।

बुधबार बिहान ६ बजे केन्द्रीय जल आयोग सीडब्ल्यूसीको मेली केन्द्रमा जल सतह प्रतिसेकेन्ड १५ मिटरको उच्च गतिमा बढ्दै गएको थियो र खतराको तहभन्दा तीन मिटर बढेको थियो । रक्षा मन्त्रालयका एकजना प्रवक्ताले तल्लो तटिय क्षेत्रहरूमा अचानक १५–२० फिटसम्मले जलसतह बढेको बताएका छन् ।

नजिकैको एउटा बाँधबाट समेत थप पानी छोडिएपछि अवस्था थप खराब बनेको बताइएको छ । कैयौँ बस्तीहरूमा बाढी पसेको, घरहरू भत्किएको र मानिसहरू विस्थापित भएपछि त्यहाँ समेत सहायता प्रयासहरू अगाडि बढाइएको छ ।

बाढीबाट मंगन, गान्तोक, पाक्योङ र नामची जिल्लाहरू प्रभावित बनेका छन् । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रभावित क्षेत्रमा तीन हजार भन्दा धेरै पर्यटकहरू रोकिएका छन् ।