बझाङ भूकम्प अपडेट : ६ जना घाइते, भत्किए घर र विद्यालय, राजमार्ग अवरुद्ध



काठमाडौं । मंगलबार दिउँसो बझाङमा दुई पटक गएको भूकम्पमा परी ६ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो ३ बजेर ६ मिनेट जाँदा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युड र दिउँसो २ बजेर ४० मिनेट जाँदा तालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएका थिए । 


उक्त भूकम्पमा परी अहिलेसम्म बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएको जानकारी पाएको  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

भूकम्पका कारण जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोको कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

भूकम्पले बझाङमा घर र विद्यालयमा क्षति पुगेको छ । बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पले भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

यस्तै, भूकम्पका कारण तलकोट गाउँपालिकाको सुनिकोट मावि, जयपृथ्वी नगरपालिकाको सत्यवादी माविलगायतका दर्जनौँ विद्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

जिल्ला सदरमुकामको बाल विकास मावि गोलाईको भवन पनि भत्किएको छ । पहिलो भूकम्प आएपछि विद्यार्थीलाई घर पठाउँदा ठूलो क्षतिबाट जोगिएका छन् । 

भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरा गाउँस्थित दुर्गा माविको भवनमा क्षति पुगेको छ । 

क्षतिको विस्तृत विवरण आउन बाँकी छ।