काठमाडौं । युरोपियन मुलुक रोमानिया वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्ने भएको छ । त्यसका लागि शुक्रबार नेपाल र रोमानियाबीच श्रम सम्झौतामा हस्ताक्षर हुँदैछ ।
श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको नेतृत्वमा चार सदस्यीय टोली बुधबार रोमानिया जाँदै छ । शुक्रबार श्रममन्त्री भण्डारी र समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबीच श्रम सम्झौतामा हस्ताक्षर हुन लागेको हो ।
पछिल्लो समय रोमानिया नेपाली श्रमिकको नयाँ गन्तव्य बन्दै छ । गएको तीन वर्षमा १० हजार नेपाली रोमानिया गइसकेका छन् । सबैभन्दा बढी अघिल्लो आर्थिक वर्षमा ६ हजार ४ सय १८ जना गएका थिए । गएका नेपाली कामदारमध्ये ३३.३ दक्ष, ८.१ अर्धदक्ष र ५८.४ प्रतिशत अदक्ष रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विश्व बैंकको प्रतिवेदनअनुसार रोमानियाले विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति लिएपछि रोजगारीका अवसर खुल्न थालेका हुन् । रोमानियामा धेरै नेपाली होटल, निर्माण, उद्योग र पशुपालनका क्षेत्रमा जाने गरेका छन् ।
श्रम मन्त्रालयले रोमानिया जाने लागत खर्च ३५ हजार रुपैयाँ निर्धारण गरे पनि म्यानपावर कम्पनीले कामदारसँग त्यसको कैयौं गुणा लिने गरेका छन् ।