काठमाडौं । साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन भएको छ । तत्कालका लागि निश्चित समयका लागि व्यापार गर्न दिने गरी छलफल भएपनि अन्तिममा वार्ता निष्कर्षविहीन बनेको हो ।
ईः ले ८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरिरहेका छन् । सोमबार मेयर बालेन शाहले उनलाई ‘वान टु वान’ वार्ताका लागि भन्दै राष्ट्रियसभा गृह अगाडि दुई कुर्सी राखेर बोलाएका थिए । ईःले आफ्नो टोली आउने भन्दै केही समय मागेका थिए ।
त्यसपछि नगर प्रहरीमार्फत तत्काल आउने भए मात्र वार्ता हुने भन्दै सन्देश पठाइएपछि मेयर र अभियन्ताबीच आरोप–प्रत्यारोप भएको थियो ।