काठमाडौँ । अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फ्लाइङ ट्याप एजुकेशन एण्ड इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालक अर्धाखाँचीको भुमिकास्थान घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने ४५ वर्षीय विष्णु केसी रहेका छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सोमबार काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरेको हो ।
उनले वैदेशिक रोजगारीको लागि वर्किङ भिसामा अस्ट्रेलिया पठाइदिन्छु, १६ लाख रुपैयाँ लाग्छ, त्यहाँ मासिक २ लाखभन्दा धेरै कमाइ हुन्छ भनी प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी १७ लाख ७९ हजार रुपैयाँभन्दा धेरै रकम ठगी गरेका थिए ।
भिसासमेत मिलाइदिएको भएपनि पीडित विदेश जान विमानस्थल जाँदा अध्यागमन कार्यालयले भिसा नक्कली भनेर फर्काएपछि घटना सार्वजनिक भएको हो ।
पछि केसी सम्पर्कविहीन भएकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पीडितले जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा अनुसन्धान गर्दा उक्त कन्सल्टेन्सीले ठगी गर्ने उद्देश्यले नै रकम लिएको देखिएपछि केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका केसीलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।