चितवन । यहाँको क्षेत्रपुर क्षेत्रमा झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर खेतीयोग्य बनाउन सुरु गरिएको छ । सो जग्गामा खेती लगाउन डोजर लगाइएको हो ।
भरतपुर महानगरपालिका– २ मा बाँझो रहेको जमिनको तथ्याङ्क लिएर खेती लगाउने अभियान सञ्चालन गरिएको हो । वडा समितिले निर्णय गरेर काम सुरु गरिएको हो ।
वडाध्यक्ष मनोज रानाभाटका अनुसार वडाभित्र रहेका १८ वटा टोलसँग बाँझो जमिनको तथ्यांक मागिएको थियो । तीमध्ये १० वटा टोलको जमिनको तथ्यांक आइसकेको छ । तथ्यांक प्राप्त भएको मिल्स एरिया र रामेश्वर टोल विकास संस्थाभित्रको बाँझो जमिनमा आजदेखि डोजर लगाएर झाडी फाँडेर खेती गर्न मिल्ने बनाउन थालिएको छ ।
उनका अनुसार ती जमिनमा समूहगतरुपमा खेती गर्न चाहनेहरुका लागि सूचना जारी गरिँदैछ । आमासमूह, टोल सुधार संस्थाजस्ता संस्थालाई जग्गा धनीले कुनै कामका लागि फिर्ता मागेको समयमा दिने गरी संस्थालाई सम्झौता गरेर जग्गा दिन लागिएको हो ।
वडाभित्र रहेका ठूला प्लटमा फूल र तरकारी खेतीका लागि संस्थागतरुपमा जग्गा माग्ने क्रमसमेत सुरु भएको छ । क्रमशः वडाभरि नै झाडी फाँडेर खाली जमिन सङ्घसंस्थालाई खेतीका लागि दिइनेछ । यसरी खेती गर्नेले जग्गाधनीलाई कुनै भाडा तिर्नु पर्दैन ।
रानाभाटले भने, ‘हामी वडालाई नमुना बनाउने गरी काम अघि बढाउँदैछौँ ।’ जनघनत्व राम्रो भएको यस वडामा घरबाहेकका क्षेत्रमा जग्गा बाँझो छाडेर झाडीमा परिणत भएको छ ।
बाँझो जमिनको झाडी फाँडेर खेती लगाएमा यसले सरसफाइ र सुन्दरता पनि दिने उनले बताए ।