एशियन गेम्स खेल्न जाने क्रिकेट टिमको बिदाई, सन्दीप आज नजाने



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसियाली खेलकुदमा भाग लिन चीन जाने राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूको बिदाई गरेको छ ।

आइतबार बिहान काठमाडौंमा एक समारोहका बीच क्यानका नवनिर्वाचित अध्यक्ष चतुबहादुर चन्द, सचिव पारस खड्का लगायतका पदाधिकारीहरूले चीन जाने खेलाडीहरूलाई बिदाइ गरेका हुन् ।


नेपाली स्पीनर सन्दीप लामिछाने भने आज टिमसँग नजाने भएका छन् ।

काठमाडौं जिल्ला अदालतले उनीविरूद्धको नाबालिग बलात्कार मुद्दाको सुनुवाइ आज राखेका कारण सन्दीप चीन नजाने भएका हुन् । सन्दीप सोमबार चीनतर्फ जाने बताइएको छ ।

त्यस्तै चोटका कारण ललित नारायण राजवंशीले पनि एसियन गेम्स गुमाएका छन् । उनको ठाउँमा सागर ढकाललाई टिममा समावेश गरिएको छ ।

नेपाली क्रिकेट टोली आज मध्याह्न साढे १२ बजे चाइना एअरलाइन्सको उडानमार्फत हाङ्झाव जादैछ ।

चीनको होङझाउमा सेप्टेम्बर २३ देखि हुने १९औं एसियन गेम्सअन्तर्गत नेपाली क्रिकेट टोलीले समूह चरणमा मंगोलिया र माल्दिभ्ससँग खेल्ने भएको छ । नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा मंगोलियासँग खेल्नेछ भने अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ ।

क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ । नेपाल, मंगोलिया र माल्दिभ्स समूह ‘ए’ मा छन् । समुह  ‘बि ‘ मा कम्बोडिया, हङकङ र जापान, ‘सी’ मा  मलेसिया, सिंगापुर र थाइल्याण्ड रहेका छन् । 

टी- २० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष टोली क्वाटरफाइनलमा पुग्नेछन् । भारत, पाकिस्तान, श्रीलंकाम, बंगलादेश र अफगानिस्तानले भने क्वाटरफाइनलमा सिधै प्रवेश पाएका छन् । सेमिफाइनल अक्टोबर ६ मा हुनेछ । फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ ।

मंगोलिया र माल्दिभ्स तुलनात्मक रुपमा कमजोर टोली भएकाले नेपाल क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो छ ।