पेनस्टक पाइप पड्किएर सोलुखोला जलविद्युत आयोजनाका दुई इन्जिनियरको मृत्यु



सोलुखुम्बु । सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा भएको दुर्घटनामा दुई जना इन्जिनियरको मृत्यु भएको छ । आइतबार दिउँसो परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप पड्किएर आयोजनामा कार्यरत दुई जनाको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिएका छन् ।

घटनामा इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो । परीक्षणका क्रममा पाइपमा पानी हालेपछि जोडिएको भाग विष्फोट भएको थियो । थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राइका अनुसार पाइप पड्किएर बेहोस भएका उनीहरुलाई खराब मौसमका कारण समयमै उद्धार गर्न सकिएको थिएन । घटनामा घाइते भएका एक एक इन्जिनियरको काठमाडौंमा ल्याएर उपचार भइरहेको उनले जानकारी दिए ।