जनताको चाहना पुरा गर्न संविधानलाई पूर्णता दिन आवश्यक : बिप्लव



काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको संविधानले जनताको चाहना पुरा गर्न नसक्ने भएकाले पूर्णता दिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा जनअधिकार अभियान नेपालको आठौं साधारणसभामा बोल्दै विप्लवले अहिलेको संविधान अपूर्ण रहेकाले जनताको चाहना पुरा गर्न नसक्ने भन्दै यसलाई पूर्णता दिनुपर्ने बताएका हुन् । संविधानले परिवर्तन र विकासको माग गरेको र जनताको प्रतिबिम्बित गर्ने गरि पूर्णता दिन कानूनविद् र अधिकारकर्मीले पनि आवाज उठाउनुपर्ने उनले बताए ।


कुर्ची र पदको सुविधा नभइ नेपाली जनताले चाहेको कानून बनाउनुपर्ने र त्यसो हुन नसके संविधान कागजको खोष्टो मात्रै हुने उनको भनाइ छ । उनले अहिले कांग्रेसले अघि सारेको समाजवाद नारामात्रै भएको र त्यसमा कुनै कार्यक्रम नरहेको जिकिर गरे ।

विप्लवले नेपाल र जनतामाथि देखिएको चूनौति सामना गर्न समाजवादी मोर्चाको आवश्यकता पुष्टि हुदै गएको र मोर्चाले नै देशलाई रुपान्तरणतर्फ अघि बढाउने धारणा राखे ।