काठमाडौँ । ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट फिल्मको विधामा अवार्ड वितरण नगर्ने चलचित्र विकास बोर्डविरुद्ध उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले शुक्रबार बोर्डलाई जुरी (राजेन्द्र शलभ, सरिता गिरी, शिवम् अधिकारी, अनुप भट्टराई र चेतन सापकोटा) निर्णयको सक्कल प्रति झिकाउन पनि आदेश दिएको छ ।
बिहीबार दिउँसो फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको ठाउँ जुम्लाका स्थानीय मीनराज आचार्यले जुरी कमिटीको निर्णयको सक्कल प्रति झिकाउनुपर्ने र उत्कृष्ट फिल्मको विधामा अवार्ड वितरण नगर्नुको कारण सार्वजनिक गर्नुपर्ने माग गर्दै चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
‘राष्ट्रिय चलचित्र पुरस्कार’को जुरी टिमले ‘प्रकाश’को नाम उत्कृष्ट फिल्ममा सिफारिस गरेको तर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डले सरकारमा रहेको पार्टी (माओवादी केन्द्र)लाई नकारात्मक रुपमा चित्रित गरेको फिल्मलाई अवार्ड दिन नमिल्ने भन्दै उत्कृष्ट फिल्मको विधा नै हटाइएको चर्चा गरिएको छ ।
यस विषयमा जुरी सदस्य रहेका अनुप भट्टराईले भने सामाजिक सञ्जालमा स्टाटस लेख्दै निर्णायक कमिटीले बुझाएको सर्वोत्कृष्ट फिल्मको निर्णयलाई चलचित्र विकास बोर्डले वितरण नगर्नुको कारणबारे प्रश्न गरेका थिए ।
‘राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘प्रकाश’ले उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्री विधामा भने अवार्ड जितेको थियो । जुरी टिमले उत्कृष्ट फिल्ममा ‘प्रकाश’को नाम सिफारिस गरेर पनि अवार्ड वितरण नभएपछि अभिनेता प्रदीप खड्काले सञ्चारमन्त्री रेखा शर्मासँग भेट गरेका थिए ।