भक्तपुरको चाँगुनारायण विद्यालय अनिश्चितकालसम्म बन्द



काठमाडौं । शिक्षकहरूको जारी आन्दोलनका कारण भक्तपुरको चाँगुनारायण माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ । प्रधानाध्यापक बाबुराम ढकालले एक सूचना जारी गर्दै शिक्षकहरू आन्दोलनमा सहभागी हुनुपर्ने भएकाले विद्यालयको पठनपाठन अनिश्चितकालसम्म बन्द गरिएको वजानकारी दिएका छन् ।

‘नेपाल सरकारले ०८० भदौ २७ गते विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा दर्ता गरेको छ । यो विधेयकको मस्यौदा नेपाली आम शिक्षक र विद्यालय कर्मचारीको हितविपरीत रहेको नेपाल शिक्षक महासंघ केन्द्रीय समिति र नेपाल शिक्षक महासंघ भक्तपुरको ठम्याइ छ,’ सूचनामा भनिएको छ ।


‘नेपाली शिक्षकहरूले पेश गरेको ३० बुँदे र ५१ बुँदे माग पूरा गर्नको लागि असोज ३ गतेबाट शिक्षक तथा कर्मचारीहरूले थालेको आन्दोलनमा सहभागी हुन असोज ४ गतेबाट अर्को सूचना प्राप्त नभएसम्मको लागि विद्यालयको पठनपाठन बन्द गरिएको छ ।’

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकविरूद्ध शिक्षकहरूले बुधबार नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । बिहीबार माइतीघरमा धर्ना दिने कार्यक्रम रहेको छ । शिक्षकहरू आन्दोलनमा उत्रिएपछि देशभरका सार्वजनिक विद्यालयहरू बन्द हुन पुगेका छन् ।