काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्कुल बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएको अवस्थामा महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारे त्यस्ता शिक्षकमाथि कारबाही गर्ने जनाएको हो ।
महानगरपालिकाले त्यसका लागि शिक्षा विभागलाई आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको जनाएको छ । महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईँका अनुसार शिक्षकहरूको आन्दोलनका कारण विद्यालय बन्द भएको खण्डमा कारबाही गरिने बताए ।
उनले भने, ‘आन्दोलन गर्न पाउनु शिक्षकहरूको अधिकार हो । तर, आन्दोलनको नाममा विद्यालय नै बन्द गरिनुहुन्न । विद्यालय बन्द गरियो भने कारबाही गर्न महानगरले शिक्षा विभागलाई निर्देशन दिएको छ ।’
महानगरको निर्देशनसँगै शिक्षा विभागले विद्यालयहरूको अनुगमन गर्ने जनाएको छ । यदि विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पुगेको देखिएको खण्डमा महानगरको शिक्षा ऐनअनुसार कारबाही गर्ने तयारी गरेको हो । यसअघि पनि महानगरकाले विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्नेसम्मको चेतावनी दिएको थियो ।