यातायात सेवा शुल्कबाट १२ करोड राजश्व सङ्कलन



नवलपरासी । नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम) जिल्ला सदरमुकाम परासीस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष ०७९ ÷ ०८० मा यातायात सेवा सम्बन्धी सेवाबाट कूल १२ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

विगत वर्षमा भैरहवा र बुटवलबाट सेवा लिदै आएका नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम) का बासिन्दालाई जिल्लामै सेवा उपलब्ध गराउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले कार्यालय सञ्चालनमा ल्याएकाले यातायात सेवासँगै राजश्व सङ्कलन पनि बढेको कार्यालयले जनाएको हो ।


विभिन्न चार शीर्षकमा यस कार्यालयले गत आर्थिक वर्षमा कूल १२ करोड ८६ लाख चार हजार तीन सय ९५राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डेयले जानकारी दिए ।

उनका अनुसार कार्यालयबाट गत आर्थिक बर्षमा यातायात क्षेत्रको आम्दानी, सवारी दर्ता किताब सम्बन्धी दस्तुर, सवारी साधन कर र आयकरमा राजश्व सङ्कलन हुँदै आएको छ ।

यातायात क्षेत्रको आम्दानी १५ लाख ५५ हजार ६५, सवारी दर्ता किताब सम्बन्धी दस्तुर एक करोड ७ लाख ९ हजार दुई सय ५० रहेकामा ( सवारी चालक अनुमतिपत्र नवीकरणबाट आठ लाख दुई हजार पाँच सय, सवारी साधन करबाट ११ करोड १४ लाख ९४ हजार ७५ र आयकरबाट ४८ लाख ४६ हजार पाँच गरी कूल १२ करोड ८६ लाख चार हजार तीन सय ९५ सङ्कलन भएको थियो ।

यातायात कार्यालयले गत वर्षमा १७ हजार १ सय ९०वटा सार्वजनिक तथा निजी सवारी साधन नवीकरण, सात सय ९४ वटा सवारी साधनको जाँचपास तथा नवीकरण, एक सय ५३ वटा बाटो इजाजत, एक हजार सात सय २४अस्थायी बाटो इजाजत र सात सय ६५ वटा ओभरलोड बोकेको भारतीय सवारी साधनलाई कारबाही र तीसय ४८ वटा सवारी चालक अनुमतिपत्र नवीकरण गरिएको कार्यालयप्रमुख पाण्डेयले बताए ।
गत आर्थिक वर्षका साथै यो वर्षको एक महिनाको थप राजश्वसमेत सङ्कलन भएको बताउँदै उनले अहिले केही सेवा थप भएको हुँदा राजश्व वृद्धि हुनसक्ने जिकिर गरे ।

यस कार्यालयको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको उनले बताए । सेवाबापत लाग्ने दस्तुरबाट राजश्व पनि सङ्कलन गर्ने दोस्रो प्राथमिकता हो । अहिले राजश्व सङ्कलनसँगै जिल्लाबाटै यहाँका नागरिकले सेवा पाउँदा राहत पनि भएको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा पनि ५७ वटा सवारी साधनको स्थायी बाटो इजाजतपत्र (रुट) नवीकरण, एकसय सय ४१सार्वजनिक सवारी साधनको प्राविधिक जाँचपास, तीन सय ७८ अस्थायी बाटो इजाजतपत्र ( पटके ) सेवा गरी कूल पाँच सय ७६ वटा सवारीसाधन सम्बन्धी सेवा प्रदान गरिएको छ ।

साउन महिनाभित्र सवारी साधन करबाट ९० लाख १५ हजार दुईसय ८०, सवारी नवीकरणबाट छ लाख २४ हजार तीनसय, सवारी चालक अनुमतिपत्रबाट १० लाख ३० हजार, यातायात क्षेत्रको आम्दानीबाट दुई लाख ३३ हजार नौसय ५० र आयकरबाट दुई लाख ३० हजार छ सय गरी कूल एक करोड ११ लाख ३४ हजार एकसय ३० राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । यस जिल्लाभित्र नै बजाज र होण्डा कम्पनीको मोटरसाइकलको एसेम्बल गर्ने कारखाना छ ।