रुकुम पश्चिमका किसानलाई बजारकै चिन्ता



रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३ काउलेचौरका तुलवीर खत्रीको दिनचर्या खेतीपातीमै बित्छ । विहान ३ बजे उठेर डोकोभरी तरकारी बोकी सदरमुकाम खलङ्गासम्म पुगेर बिक्री गर्नु उनको बाध्यता हो । बारीमा उत्पादित तरकारी बिक्रीका लागि उनले हरेक दिन दुई घण्टा हिँड्नुपर्ने बाध्यता छ । 

जिल्लामा तरकारी भण्डारणका लागि चिस्यान केन्द्रको अभाव र मूल्य निर्धारण नहुँदा उनी जस्ता किसानलाई दैनिक यसैगरी तरकारी बोकी बजार जानुपर्ने बाध्यता छ । खत्रीले हाल गोलभेडा खेतीमा बढी जोड दिएका छन् । 


६ वटा फलामे टनेल, दुई वटा बाँसका टनेल र अन्य खाली जग्गा गरेर सात रोपनीमा गोलभेडा खेती गर्दै आएका खत्रीले चारवटा टलेन भने प्रधानमन्त्री कृषि आधुनिकरणबाट २५ प्रतिशत अनुदानमा निर्माण गरेका हुन् । साथै दुई वटा टनेल जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा निर्माण गरेका हुन् । 

सरकारले यहाँ चिस्यान केन्द्र निर्माण गरिदिने हो भने किसानका लागि धेरै सहज हुने उनको भनाय छ । चिस्यान केन्द्र भए किसानको लगानी खेर नजाने र मूल्य निर्धारण भए किसान र उपझोक्ता ठगिनबाट बच्ने उनको भनाइ छ । साथै कुन समयमा कस्तो तरकारी लगाउने भन्नेबारे प्राविधिक ज्ञान भए किसानलाई फाइदा पुग्ने उनको बुझाइ छ । 

“स्थानीय तहले तरकारीको न्यूनतम मूल्य निर्धारण गर्ने हो भने हामीलाई सहज हुन्छ, अघिल्लो दिन प्रतिकेजी रु ८० बिक्री गरेको तरकारी अर्को दिन आधा मूल्यमा बिक्री गर्नेपर्ने बाध्यता छ”, उनले भने । यो खत्रीको मात्रै समस्या होइन जिल्लामा तरकारी खेती गर्ने सबैको समस्या उस्तै छ । 

तरकारीलाई सङ्कलन गर्ने गरी मुसिकोट नगरपालिका–५ बागबजारमा आर्थिक वर्ष २०७५/७६ निर्माण गरिएको सङ्कलन केन्द्र पनि यतिबेला प्रयोगविहीन अवस्थामा  छ । किसानले उत्पादन गरेका फलफूल तथा तरकारीजन्य वस्तुको सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको थियो । 

कृषि ज्ञान केन्द्र र कृषि विकास कार्यालयको पहलमा निर्माण भएको सङ्कलन केन्द्र प्रयोगविहीन भन्दा किसानलाई समस्या भइरहेको छ । तरकारी उत्पादन बढाउने भन्दा पनि उत्पादन भएको तरकारीलाई बजारिकरण गर्नुपर्ने पहिलो प्राथमिकता राखेर सरकारले काम गर्नुपर्ने यहाँका किसानको माग छ ।