जयपृथ्वी राजमार्ग अवरुद्ध, बाटोमै थन्किए सवारी साधन



बैतडी । अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो ।

उक्त ढुङ्गा फुटाउन बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।  उनले भने, ‘ठूलो ढुङ्गा पन्छाउन नसक्दा सवारीसाधन बाटोमै थन्किएका छन् ।’


आइतबारदेखि उक्त राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन् ।  यस्तै दशरथचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रूख खस्दा अवरुद्ध भएको छ । 

गएराति खसेका चारवटा रुखले राजमार्ग अवरुद्ध पारेको प्रहरी निरीक्षक केसीले बताए ।

राजमार्ग अवरुद्ध भएर यातायातका साधन रोकिँदा यात्रु अलपत्र परेका छन् । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित हुनुका साथै बाढी र पहिरोको जोखिम बढाएको छ ।