दलाल पुँजीवादीका लागि राज्यले राष्ट्रिय पुँजीपतिलाई दुख दियो : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यति होल्डिङलाई खेद्नेहरु दलाल पूँजीवादी भएको आरोप लगाएका छन् । आइतबार पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय पूँजीपतिहरुलाई छानीछानी लखेटेको आरोप लगाए ।

उनले यसलाई दलाल पूँजीवादीहरुको तमासाको संज्ञा दिए । उनले भने, ‘सोलुको एउटा शेर्पाको छोरो बोकेर हिँड्थ्यो त्यस्तो शेर्पाले यहाँ आएर हवाईजहाज पनि उडाएको छ, पर्यटन पनि चलाएको छ, होटल पनि चलाएको छ, अनि हेलिकप्टर पनि चलाएको छ । यस्तो गर्न पाइन्छ भारी बोकेर हिँड्ने शेर्पाले ?  माओवादीहरु गायन्त्री मन्त्र जप्दैनन् । ओम्नी ओम्नी, यती यती, भाटभटेनी भाटभटेनी, मीनबहादुर, मीनबहादुर मात्र भन्छन् ।’


उनले व्यवसाय गरेर राज्यलाई योगदान दिएका मीनबहादुर गुरुङ पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने कुनै कारण नभएको बताए । अध्यक्ष ओलीले भ्रष्टाचार र अनियमितताविरुद्ध कारबाही गर्ने नाममा सरकारले राजनीतिक स्टन्ट गरेको तर्क गरे ।