मसँग पार्टीभित्रको गुटबन्दी रोक्ने सामर्थ्य छ : शशांक कोइराला



मन्थली । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दी रोक्ने सामर्थ्य आफूसँग मात्रै भएको दाबी गरेका छन् ।

आइतबार बिहान नेपाल प्रेस युनियन रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले पार्टीमा चरम गुटबन्दी भएकाले समस्या भएको र त्यो गुटबन्दी रोक्न सक्ने सामर्थ्य आफूले मात्र राख्ने बताएका हुन् । उनले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने बताए ।


कोइरालाले आफू वर्षात सकिएलगत्तै देश दौडाहमा जाने भन्दै आम कार्यकर्ताले कांग्रेस कस्तो भएको हेर्न चाहन्छन् भनेर बुझ्ने बताए । कोइरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएको भन्दै कोशी प्रदेशमा सबै दलहरू मिल्नुको विकल्प नभएको बताए । उनले सरकारले कृषिमा बजेट नबढाएसम्म मुलुकमा समृद्धि नआउने बताए ।

उनले चिनियाँ राजदूत छन सोङले केही दिनअघि दिएको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत रहेको बताए । चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नपर्ने उनले बताए । डा. कोइरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौंमा रहेर एकले अर्काका विषयमा टिप्पणी गर्नु कूटनीतिक मर्यादा विपरीत हुने बताए ।