मलङ्गवामा लगाइएको कर्फ्यु हट्यो, जनजीवन सामान्य बन्दै



सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा लागेको कर्फ्यु हटेको छ । हिजो शनिबार साँझ ५ बजेदेखि लागु गरिएको कर्फ्यु आज बिहान ८ बजेदेखि हटाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

कर्फ्यु हटेसँगै अहिले जनजीवन सामान्य बन्दै गएको छ । बजार खुलेका छन् भने गाडी पनि सहज रुपमा चलिरहेका छन् ।
शुक्रबार बेलुका मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्णको मूर्ति विसर्जन गरी फर्किने क्रममा विवाद हुँदा दुई पक्षबीच भएको झडपमा केही व्यक्ति र प्रहरी समेत घाइते भएका थिए ।


हिजो दिउँसो फेरि दुवै पक्षबीच विवाद बल्झिएपछि स्थानीय प्रशासनले सुरक्षा बढाउँदै कर्फ्यु लगाएको थियो । पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी र बाबा पेट्रोल पम्पसम्म कर्फ्यु आदेश जारी गरिएको थियो ।