लोकतान्त्रिक चेतना भुत्ते पार्ने कसरत अनिष्टको संकेत होः बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्ता गठबन्धनले कोशी प्रदेशमा असंवैधानिक हर्कत गरेको बताएका छन् । शनिबार बिहान दलहरूलाई गम्भीर बन्न अपील गर्दै उनले २/२ पटक गठबन्धन सरकारले संविधान र कानुन मिचेर सभामुख र सभाध्यक्षलाई मतदान गराउँदै अवैधानिक ढंगले सत्तामा टाँसिन गरेको हर्कत पतनको बाटो भएको र यो लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत भएको बताएका छन् ।

उनले भनेका छन्, ’पहिलेको सत्ताधारी पक्षले जानीजानी २/२ पटक संविधान मिचेर संसद् विघटन गरेको थियो र त्यसलाई सबैले प्रतिगमनकारी कदम भनेर विरोध गरेपछि अदालतमार्फत सच्याइएको थियो। त्यो प्रतिगमनकारी कदमको विरोध गरेर सत्तासीन भएको अहिलेको सत्ताधारी पक्षले १ नं प्रदेशमा त्यसरी नै २/२ पटक संविधान र कानुन मिचेर सभामुख र सभाध्यक्षलाई मतदान गराउँदै अवैधानिक ढंगले सत्तामा टाँसिने हर्कत गर्यो र अन्ततः सर्वोच्च अदालतले त्यसलाई दण्डित गन्यो। हिजोका आन्दोलनकारी र संविधान निर्माताहरू नै यसरी पतन हुनु लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत हो।’


यसैलाई देखाएर देशी र विदेशी पुनरुत्थानवादी शक्तिहरू अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउन उद्यत भइरहेको टिप्पणी उनले गरेका छन्। एकातिर दिनदहाडै खुकुरी नचाउँदै ताण्डव मच्चाउनु र अर्कोतिर विभिन्न प्रायोजित जोगी र बाबाहरूको भेषमा जनताको अग्रगामी र लोकतान्त्रिक चेतना भुत्ते पार्ने कसरत गर्नु त्यसैको परिचायक भएको उनले बताएका छन्।