बागलुङको ‘रिग क्षेत्र’ पर्यटक आकर्षणको केन्द्र बन्दै



बागलुङ । तल घना जङ्गल । शिरमा नाङ्गा हरियाली पहाड । नजिकै राष्ट्रिय लोकमार्ग । बागलुङको रिग ताल क्षेत्र यो सिजन निकै मनमोहक देखिन्छ ।

निसीखोला गाउँपालिका–६ मा पर्ने रिग क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ । एक दशक अगाडिसम्म गुमानाम रिग क्षेत्र अहिले एकाएक चर्चामा छ ।


पातीहाल्नेभन्दा केही माथिल्तिर रिग ताल पनि छ । तालमा फोटो, भिडियो खिच्ने र त्यस वरपरको दृृश्यावलोकन गर्नेको पछिल्लो समय भिड नै लाग्ने छ । पातीहाल्ने मध्यपहाडी लोकमार्गमै पर्छ । जुन बागलुङ, रोल्पा र पूर्वीरुकुम जिल्लाको सङ्गमस्थल पनि हो ।

केही वर्ष अगाडिसम्म गुमनाम रहेको रिग अहिले निकै चर्चामा छ । मध्यपहाडी लोकमार्गले गर्दा पातीहाल्ने चर्चामा आयो । पातीहाल्ने पुग्ने पर्यटक रिगतालमा सहजै पुग्ने हुँदा अहिले चहलपहल बढी नै छ ।

केही वर्ष अगाडिसम्म सुनसान थियो यो क्षेत्र । वर्षात्को समयमा गोठालेले भेडाबाख्रा र बस्तुभाउ चरनका रुपमा प्रयोग गर्थे । हिउँदको समयमा हिउँले ढाकिने यस क्षेत्र सुनासन हुन्थ्यो । तर अहिले बाह्रै महिना यहाँ आन्तरिक पर्यटकको चहलपहल हुने गरेको छ । वर्षातको समयमा होस या हिउँदको, दुवै समयमा यहाँ विभिन्न स्थानबाट आन्तरिक पर्यटक घुम्न आउने गर्छन् ।

उच्च पहाडी हावापानी, शान्त वातावरण र यहाँबाट देखिने मनमोहक दृश्यले धेरैलाई तान्ने गरेको छ । निसीखोलाको शिर मानिने पातिहाल्ने लोकमार्ग कालोपत्र भएपछि बढी चर्चामा आएको हो । त्यसभन्दा अगाडि यसको त्यति चर्चा थिएन ।

यहाँ हिउँदमा बजार क्षेत्रबाट थकान मार्न र गर्मी छल्न त्यहाँ पुग्छन् भने हिउँदमा हिउँ खेल्न जाने गर्छन् । रिग क्षेत्रमा हरेक दिन मान्छेको आवतजावत बाक्लिँदै गएको स्थानीय पुनराम घर्तीमगरले बताए । पछिल्लो समय वर्षा हुँदा पनि पर्यटक गाडी लिएर घुम्न आउने गरेको घर्तीमगरको भनाइ छ ।

पातीहाल्नेमा होटल तथा बास बस्ने व्यवस्था भएपछि रातिमा पनि पर्यटक रिगतालसँग रम्न पुग्ने गरेका छन् । पातिहाल्नेसँग जोडिएको रिगतालमा आन्तरिक पर्यटकको चहलपहल बढेपछि यस वरपरको क्षेत्र सामाजिक सञ्जालमा भाइरल नै हुने गरेका छन् ।

रिग ताल तीन हजार २०० सय मिटर उचाइमा रहेको छ भने त्यसभन्दा माथिल्लो क्षेत्र करिब चार हजार मिटरको उचाइमा छन् । रिग तालसम्म पुग्ने सडक निर्माणसमेत भएको छ । सडकले तालसम्म पुग्नका लागि पर्यटकलाई सजिलो बनाइदिएको छ ।

सिमानाबाट गाडीमा पाँच मिनेट र पैदल १५ मिनेटमा रिग ताल पुग्न सकिन्छ । अहिले यहाँ बिदाको दिन बढी आन्तरिक पर्यटक पुग्ने घर्तीमगरको भनाइ छ ।

रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट घुम्न आएका मिनबहादुर ओलीले पछिल्लो समय यो क्षेत्र निकै चर्चित बन्दै गएको बताए । रुकुमकोटबाट करिब दुई घण्टामै रिग आउन सकिने हुँदा आफू धेरै पटक यहाँ आउने गरेको ओलीको भनाइ छ ।

शान्त वातावरण र स्वच्छ हावापानी रहेको हुँदा ध्यान र योगा गर्नका लागि यो ठाउँ निकै उपयोगी रहेको उनको भनाइ छ । लोकमार्गले तीन जिल्लालाई जोडेपछि पातीहाल्ने र रिग ताल क्षेत्र धेरैको रोजाइमा परेको ओलीले बताए ।

रिग क्षेत्र निसीखोलाको शिरमा पर्छ । यहाँ विशेष गरी दुई सिजनमा आन्तरिक पर्यटकको अत्यधिक भिडभाड हुन्छ । रिगतालको नाम मगर खाम भाषाबाट बनेको हो । ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो अर्थात् एकै ठाउँ जमेको भन्ने बुझाउँछ ।

यस तालबाट बागलुङ जिल्लाको विभिन्न स्थान, रोल्पा, रुकुम, गुल्मी, प्यूठान, अर्घाखाँची, पर्वतलगायतका ठाउँको देख्न सकिन्छ भने माछापुच्छ्रे«, अन्नपूर्ण, धौलागिरि लगायतका दर्जनौँ हिमशृङ्खला र उच्च पहाडी क्षेत्रको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।