न्याय सेवा आयोगको बैठक स्थगित



काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशनका सम्बन्धमा बोलाएकाे न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।

आयोगको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेका हुनाले बैठक स्थगित भएको हो । उनी आयोगमा सदस्य छन् । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले आज जारी गरेकाे प्रेस विज्ञप्तिमा लोक सेवा आयोगका अध्यक्ष उपत्यका बाहिर रहेकाे र बैठकमा उपस्थित हुन नसक्ने भएकाले बैठक स्थगित गर्नुपरेको उल्लेख छ ।


उक्त आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानूनी व्यवस्था छ । आयोगले २०७८ साउन १९ गते आन्तरिक, महिला, खुला, आदिवासी जनजाति र मधेसी गरी १८ जिल्ला न्यायाधीशको विज्ञापन गरेको थियो । लोकसेवा आयोगले लिएको उक्त परीक्षाको लिखित परिणामपछि मौखिक अन्तर्वार्तासमेत लिनुपर्ने भएकाले परिषद्को बैठक बोलाइएको थियो ।