मानव अधिकार आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्न पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड 



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय मानव अधिकार आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका  छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्रीसँग आयोगका अध्यक्ष तथा पदाधिकारीले गरेको भेटवार्तामा उनले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 


प्रधानमन्त्री दाहालले आयोगको वर्तमान अवस्थाबारे जानकारी लिँदै पेरिस सिद्धान्तबमोजिम हुने गरी आयोगको नयाँ ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटमा नेपालको मानव अधिकारको अवस्था, मानव अधिकार आयोगको नयाँ ऐन निर्माण र मानव अधिकार आयोगको स्तर निर्धारणको बारेमा विषयमा छलफल भएको थियो ।

आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले हालसम्म प्राप्त गरेको स्तर ‘ए’ श्रेणी कायम राख्नका लागि आयोगको ऐनमा पेरिस सिद्धान्तबमोजिम हुने गरी आर्थिक स्वायत्तता, पदाधिकारीको नियुक्ति, कर्मचारीको वृत्ति विकासको सुनिश्चिततालगायत विषयलाई समेट्नुपर्ने र यसका लागि सरकारबाट आवश्यक पहल गर्नुपर्नेमा माग गरेका थिए । 

छलफलमा आयोगका सदस्य डा सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी, लिली थापा, नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्याल, आयोगका कामु सचिव मुरारीप्र्रसाद खरेल, सहसचिव डा टीकाराम पोखरेललगायतको उपस्थिति रहेको थियो ।