ललिता निवास प्रकरण : आजबाट प्रतिवादीको थुनछेक बहस



काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा आजबाट प्रतिवादीको थुनछेक बहस सुरु हुँदैछ । आज चिया ब्रेकपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुने जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्तासमेत रहेका जिल्ला न्यायाधिवक्ता महेश खत्रीले जानकारी दिए ।

जिल्ला अदालतमा ४ जना सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ । प्रतिवादीका तर्फबाट उनीहरुका आ–आफ्ना वकिलले बहस गर्नेछन् । उनीहरूको बहस सकिएपछि जाहेरवालाका तर्फबाट बहस हुनेछ । अन्तिममा सरकारी वकिलका तर्फबाट नै जवाफी बहस हुनेछ ।


आइतबार (हिजो)देखि जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा थुनछेक बहस सुरु भएको हो । थुनछेक बहसमा अभियोजनकर्ता सरकारी वकिलका तर्फबाट हिजो चारजनाले बहस गरेका थिए । आज पनि जिल्ला सरकारी वकिलका तर्फबाट बहस हुनेछ ।

अघिल्लो आइतबार सरकारी वकिलले सरकारी छाप दुरुपयोगमार्फत किर्ते गरेको भन्दै ३१० जनाविरुद्ध मुद्दा दायर गरेका थियो । पक्राउ परेकाहरूको सोमबार, मंगलबार, बुधबार र शुक्रबार बयान भएको थियो । उनीहरूको बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको हो ।