बजेट न्यून भएको कारणले सोचेजस्तो काम गर्न सकिएनः मन्त्री आचार्य



काठमाडौं । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेटको अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरु पनि सम्पन्न गर्नसक्ने अवस्था नरहेको बताएका छन्।

आइतबार संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले बाल विवाह, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्यसँग सम्बन्धित समस्या पनि अरु मन्त्रालयसँग अन्तरसम्बन्धित भएकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चाहे अनुसार अघि बढाउन सक्ने अवस्था नरहेको तर्क गरे। उनले बाल सुधार गृह, वृद्धा आश्रम समेत बजेटकै अभावमा आवश्यक्ता अनुसार बनाउन नसकिएको बताए ।


‘खासगरी यो मन्त्रालयले धेरै कामहरु आफै गर्नसक्ने अवस्था छैन। किनभन्दा बाल विवाहका कुराहरु उठ्छन। त्यो गृह मन्त्रालयले हेर्नुपर्ने। स्वास्थ्य समस्याका कुराहरु स्वास्थ्य मन्त्रालयले हेर्नुपर्ने,’ उनले भने, ‘विभिन्न मन्त्रालय यसमा जोडिएको छ। सामाजिक सुरक्षा भत्ताका कुरा त्यो श्रम मन्त्रालयले हेर्नुपर्ने। यसले गर्दाखेरी पनि अलिकति अन्योलको अवस्था छ। खासगरी यो मन्त्रालयमा बजेटको अभाव नै प्रमुख कारण पनि हो।’

उनले बाल सुधार गृहको क्षमता वृद्धि गर्ने काम आवश्यक भएपनि त्यसका लागि अर्थ मन्त्रालयले आवश्यक बजेटको व्यवस्था नगरेको गुनासो समेत गरे।

‘बजेट अत्यन्त न्यून भएको कारणले पनि हामीले सोचेजस्तो विभिन्न ठाउँमा कार्यक्रमहरू, योजनाहरू सम्पन्न गर्नसक्ने अवस्था पनि छैन। बाल सुधार गृहका कुराहरु गर्दा बालसुधार गृहमन्त्री, जो देशभरी ८ वटा छन्,’ उनले भने, ‘४ वटा मन्त्रालयको व्यवस्थापनमा सञ्चालनमा छ। र, बाँकी ४ वटा यूसेफ भन्ने एउटा संस्थाले त्यसको व्यवस्थापन हेरेको छ। त्यहाँ क्षमताभन्दा बढी बच्चाहरूको संख्या छ। त्यसले त्यसको संख्या बढाउनुपर्ने आवश्यक्ता छ। अर्थ मन्त्रालयले बजेट नदिएको कारण त्यो काम गत वर्ष पनि हुन सकेन।’