वर्षाले भत्कायो कारागार पर्खाल



लगातारको वर्षाका कारणले जिल्ला कारागार कालीकोटको पर्खाल भत्किएको छ । पुरानो जीर्णोद्धार गरिएको भवनसहितको चिरा परेको पर्खाल वर्षाले भत्काएको हो । कारागारको पर्खाल भत्किँदा कैदीबन्दी जाखिममा परेका छन् । जेलर नरबहादुर सार्कीले १५ मिटर जति पर्खाल भत्किसकेको जानकारी दिनुभयो । “कारागारको एउटातर्फको पर्खाल भत्किएको छ र अर्कोतर्फ पर्खाल भत्किन लागेको छ”, उहाँले भन्नुभयो, “पर्खाल भत्किँदा कारागार सुरक्षामा खटिएका प्रहरीले पाल टाँगेर सुरक्षा दिएका छन् । कैदीबन्दी पनि जोखिममा परेका छन् ।” पच्चीस जनाको क्षमता भएको ‘घ’ श्रेणीको कारागारमा हाल कारागारमा ७४ कैदीबन्दी छन् ।

विसं २०३२ मा बनेको कारागार भवनको अति जीर्णावस्था भएका कारण २०७३ साल चैत १३ मा एक कैदी भागेका थिए । कालीकोटका खाँडाचक्र र तिलागुफा नगरपालिका, शुभकालिका, नरहरिनाथ , पचालझरना र पलाता गाउँपालिकामा २७ घरटहरा भत्ँिकदा १३७ जना विस्थापित भएका छन् । जिल्लाका केही स्थानीय तहबाट पहिराको क्षतिबारे विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र शाहीले बताउनुभयो । उहाँले नरहरिनाथ–९ लालुको शीतलपानीको दलित बस्ती पनि पहिराका जोखिममा परेको जानकारी दिनुभयो ।