काठमाडौँ । नेपालले टी-२० विश्वकपको एशिया छनौट खेल अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आज आफ्नो दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको हो ।
बहराइनले दिएको ३२ रनको लक्ष्य पछाएको नेपालले २.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि कबिता कुँवरले अविजित १८ रन बनाएकी थिइन् भने सिता राना मगरले अविजित २ रन बनाएकी थिइन् ।
यसअघि पहिला ब्याटिंगमा उत्रिएको बहराइन १५.४ ओभरमा ३१ रनमा अलआउट भएको थियो ।
बहराइनलाई सस्तैमा अल आउट गर्नेक्रममा नेपाली बलर इन्दु बर्माले ३ विकेट लिएकी थिइन् भने कुशी डंगोलले २ विकेट लिएकी थिइन् । त्यस्तै कविता कुवँर, पुजा महतो र कप्तान रुबिना क्षेत्रीले एक एक विकेट लिएका थिए ।
बहराइनका लागि दीपिका रासंगिकाले सर्बाधिक ११ रन बनाएकी थिइन् भने बहराइनका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
विश्वकप छनौटमा नेपालको यो दोस्रो जित हो । यस अघि नेपालले आयोजक मलेसियालाई पराजित गरेको थियो ।
सेप्टेम्बर ९ सम्म संचालन हुने यस एशिया छनौटमा १२ देशले भाग लिएका छन् । जसमा नेपाल समुह ए मा रहेको छ ।
समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।
प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेल भुटानविरुद्ध सेप्टेम्बर ३ मा, कतारविरुद्ध सेप्टेम्बर ४ मा र युएईविरुद्ध सेप्टेम्बर ६ मा खेल्ने तालिका रहेको छ ।
दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् ।